Saturday, December 1, 2007

Another article

चम्किँदै छ नेपाली तारा

क्लोज अप नेपाली तारा-२ को शृंखला जति अगाडि बढ्दै छ, यसप्रतिको चासो र चाख पनि त्यत्तिकै वृद्धि भइरहेको छ। नेपाली गायन प्रतिभाको खोजीमूलक यो स्पर्धा उत्कृष्ट तीन प्रतिभाको चयन गर्ने अवस्थासम्म पुग्दा संगीतप्रेमीहरूमाझ गहिरो रुचिको विषय बन्न पुगेको छ।
यसको छायांकन गरिने ललितपुरको कुपण्डोलस्थित स्टुडियो फोरको स्टुडियोमा दर्शकको भीड बढेर यस कुराको पुष्टि गरिरहेको छ।
हरेक बुधबार नयाँ शृंखलाका लागि छायांकन हुने क्लोज अप नेपाली तारा-२ को भोलि शुक्रबार नेपाल टेलिभिजनबाट प्रसारण हुने नयाँ शृंखलाको छायांकनका क्रममा संगीतप्रेमी युवायुवतीको भीड यति धेरै लाग्यो कि यसअघि दर्शकलाई निःशुल्क र बिनारोकतोक छायांकनमा प्रवेश दिइरहेको आयोजक संस्थाले बुधबारको छायांकनमा सहभागी हुन पासकै व्यवस्था गर्नुपरेको थियो।
स्टुडियोको चापअनुसार सीमित पास बाँडिदा कतिपय युवायुवती स्टुडियोबाहिरै बसेर प्रतियोगिताबारे जानकारी लिन बाध्य थिए भने छायांकनमा प्रत्यक्ष रूपमा सरिक हुनेको संख्या चर्को थियो।
बुधबार छायांकन भएको प्रतियोगितामा राज सागर, सूर्यकिरण लामा, सन्तोष लामा र तारा लक्समले गायन स्पर्धा गरेका थिए।
निर्णायकको नम्बर र दर्शक भोटका आधारमा यीमध्ये एक प्रतियोगीलाई पाखा लगाउँदै बुधबार उत्कृष्ट तीन गायन प्रतिभा छनोट गरियो। यसपालिको स्पर्धामा को बाहिरियो भन्नेबारे यहाँ उल्लेख नगरिँदा नै संगीतप्रेमी दर्शकलाई भोलि शुक्रबारको कार्यक्रमबाट मनोरञ्जन मिल्ला।
तर यतिचाहिँ संकेत गरौं कि, बाहिरिन बाध्य प्रतिभाले विरहको भावमा ख्यातिप्राप्त गायक भक्तराज आचार्यको जति चोट दिन्छौ देऊ मायालु बोलको गीत गाउँदा उनी मात्र होइन, उनका सहकर्मी प्रतियोगीहरू पनि भावुक भइरहेका थिए। त्यो भावुक घडिमा सूर्यकिरण लामा त रुमालले आँशु पुछिरहेका थिए।
प्रतियोगिताबाट बाहिरिने र प्रतियोगितामा टिकिरहने सबै नयाँ गायन प्रतिभाको क्रेज अन्तिम परिणाम आउनुअघि नै यति बढिरहेको थियो कि उनीहरू स्टुडियोबाट बाहिरिन नपाउँदै अटोग्राफ लिने र सँगै तस्वीर खिचाउनेको ताँती भेटिन्थ्यो।
शुक्रबार प्रसारण हुने शृंखलामा प्रतियोगीहरूले पाउने पुरस्कारको पनि घोषणा गरिँदै छ।
क्लोज अप नेपाली तारा-२ मा उपाधि जित्ने प्रतिभाले नगद २ लाख २५ हजारका साथमा बजाजको डिस्कभर मोटरसाइकल हासिल गर्नेछन् भने फस्ट रनरअपले ५० र सेकेन्ड रनरअपले २५ हजार पाउनेछन्।
यसबाहेक नेपाली तारा-२ ले आयोजकका तर्फबाट सोलो अडियो एल्बम तथा म्युजिक भिडियो बजारमा ल्याउने मौका पाउनेछन्।
त्यसै गरी अन्तिम ३ प्रतिस्पर्धीका लागि मलेसिया तथा नेपाली तारा हुनेले मलेसिया र सिंगापुर घुम्ने मौका पाउने व्यवस्था पनि रहेको छ।

source: http://www.newsofnepal.com/detailnews.php?type=samachaar&cat=11&id=1237

Bookmark this post:
Ma.gnolia DiggIt! Del.icio.us Blinklist Yahoo Furl Technorati Simpy Spurl Reddit Google

0 Comments:

© Blogger Templates |